\

६ चैत, वीरगञ्ज । बारा, ताजपुरका ६० वर्षीय नरेश महतोले ‘सानो छँदा सिर्सिया नदीको पानी पिउँथ्यौं’ भन्दा बालबालिका र युवा पुस्तालाई किंवदन्ती जस्तो लाग्छ । नलागोस् पनि किन ! उनीहरूले थाहा पाउँदादेखि सिर्सियामा कालो र गन्हाउने पानी बगिरहेको छ । त्यो पानी गाईवस्तुलाई समेत पिलाउन मिल्दैन । मानिसको त जीउमा पर्यो कि खटिरा निस्कन्छ ।
अलि मास्तिर भने सिर्सियामा कञ्चन पानी बग्छ । आसपासका बासिन्दा त्यहींको पानी पिउँछन्, घरायसी काममा प्रयोग गर्छन् । उद्योग-कारखानाको लापरबाहीले गर्दा नै केही किलोमिटर दूरीमै नदीको शुद्धतामा आकाश-पाताल फरक भएको हो ।
उद्योग-कारखानाबाट निस्किएको फोहोर पानी प्रशोधन नै नगरी नदीमा मिसाइएको छ । यसरी वर्षौंदेखि नदी प्रदूषण भइरहँदा न नियमनकारी निकायले चासो दिएका छन्, न त उद्योगहरूलाई जिम्मेवार बन्नुपर्छ भन्ने चेत नै पलाएको छ ।
सिर्सिया नदी बाह्रैमास बग्छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-३ स्थित रामवन झाडीमा यसको मुहान छ । परवानीपुरको दक्षिणमा कियासुत नदी यसमा मिसिन्छ । वौद्यी खोला यसमै विलय हुन्छ । तर, वीरगञ्ज नपुग्दै औद्योगिक प्रदूषणको चपेटामा पर्छ ।
